सम्पादकabout
विगतका केही वर्षदेखि नेपाली बालसाहित्यमा उल्लेख्य प्रगति भएको देख्न सकिन्छ । थरिथरिका किताबहरु प्रकाशन भइरहेका छन् र यससँग सम्बद्ध क्रियाकलापहरु पनि धेरै हुन थालेका छन् । तर अझै पनि बालबालिकाको ध्यान आकर्षण गर्ने तथा उनीहरुको रुचि र आवश्यकतालाई पूर्ति गर्ने किताबहरुको खाँचो छ । नेपालका सबै उमेरका बालबालिकाका लागि उपयुक्त हुने अर्थपूर्ण पुस्तकहरु प्रकाशन गर्दै जाने उद्देश्यसहित यस प्रकाशन संस्थाको स्थापना भएको हो । पुस्तक बालबालिकाको सर्वोपरी विकासका लागि अति आवश्यक हुन्छ भन्ने यस संस्थाको मान्यता र विश्वास रहेको छ । त्यसैकारण यस संस्थाको प्रमुख प्रयास नै पुस्तकको सिर्जनात्मक तथा भौतिक गुणस्तरको उच्चता कायम गर्ने रहेको छ । छपाइका लागि तयार भएको पुस्तकका केही निश्चित संख्या लक्षित बालबालिका, शिक्षक, अभिभावक तथा विशेषज्ञहरुका माझमा पठाइन्छ । सबैको सुझावअनुसारको परिमार्जनपछि मात्रै पुस्तकको प्रकाशन हुन्छ । यस प्रकाशन सस्थाको स्थापना नेपाली बालसाहित्यको विभिन्न विधा वा क्षेत्रमा दशौँ वर्षको अनुभव संगालेका व्यक्तित्वहरुको संयोजनबाट भएको हो ।